#

कानेपोखरी गापाद्धारा आठौं गाउसभाका निर्णयहरु सार्वजनिक

  पथरी अनलाइन   ९ चैत्र २०७७, सोमबार

ऋषिदेव र अति विपन्नलाई निःशुल्क स्वास्थ्य विमा कार्यक्रम

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको नव जनमुखी कार्यक्रम अन्तर्गत ऋषिदेव, झागँड/उराँव र अति विपन्न परिवारहरुको निःशुल्क स्वास्थ्य विमा भएको छ। पालिका भित्रका नियमित सुगर,प्रेशरको औषधि सेवनकर्ताहरुलाई पनि निःशुल्क औषधि प्रदान गर्ने पालिका जनाएको छ।गाउँपालिकाको आठौं गाउँसभाले पारित गरेको निर्णयहरु सार्वजनिक गर्न आइतबार पालिकाले आफ्नो सभाहलमा पत्रकार सम्मेलन गरेको थियो। सो क्रममा यी जानकारी दिइएको हो। पालिकाले जनता आवास कार्यक्रम अन्तर्गत ऋषिदेव वस्तीको घर निःशुल्क निर्माण, छात्रासँग उपाध्यक्ष कार्यक्रम, सामुदायिक विद्यालयका छात्रछात्राहरुलाई दिनको १५ रुपैयाँको दरले खाजा खाने रकम प्रदान गर्दै आएको, खरको छाना विस्थापन, शितलहरको समयमा न्यानो कपडा वितरण लगायतका कार्यक्रम चलाउदै आएको उल्लेख गरेको छ। पालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा ६१ करोड ३७ लाख ४४ हजार ७१ को बजेट बिनियोजन भएकोमा माघ मसान्तसम्ममा ३३ करोड, १६ लाख, १२ हजार २६३ रुपैँया आम्दानी भएको जनाइएको छ। माघ मसान्तसम्ममा चालु खर्च ४३.१६ प्रतिशत, पूँजिगत खर्च २८.६७ प्रतिशत र सामाजिक सुरक्षा तर्फ ६२.४५ प्रतिशत खर्च गरेकोमा हालसम्म जम्मा ३० करोड ७ लाख ३० हजार ६४१ रुपैँया अर्थात करिब ६० प्रतिशत रकम खर्च भएको जनाइएको छ । अब यस आर्थिक बर्ष सकिन्दा ९० प्रतिशतसम्म खर्च हुने पालिका प्रमुख ताराबहादुर काफ्लेको भनाई छ । ०७७/०७८ को माघ मसान्तसम्मको योजनागत प्रगती अन्तर्गत ३२४ मध्ये सम्झौता भई ११० कार्यान्वयनमा रहेको छ भने १०० वटा योजनाहरु सम्पन्न र ११४ वटा सम्झौता हुन बाँकी रहेको छ।त्यस्तै मानव संसाधन विकास तथा कार्यक्रम अन्तर्गत जम्मा ३४८ वटा योजना मध्ये १९ वटा कार्यक्रम सम्झौता, २६ वटा कार्यक्रम सम्पन्न र २८७ कार्यक्रमहरु सम्झौता हुन बाँकी रहेको छ। न्यायिक समितिको न्याय सम्पादनको समीक्षा ०७७/०७८ अन्तर्गत ७६ वटा विवाद तथा उजुरीको फर्छयौट गरेको छ । ७९ वटा उजुरी मध्ये ५४ वटाको मिलापत्र गरिएको र २२ वटाको ऐनमा व्यवस्था भए अनुरुप निर्णय गरिएको र बाँकी ३ वटा उजुरीको फर्छयौट हुन बाँकी रहेको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राजमती इङ्नामले बताइन् । यस्तै, अहिलेसम्म भएको प्रमुख उपलब्धि अन्तर्गत कोभिड अस्पताल संचालन गर्न डाक्टरको व्यवस्था गरेको, वारुण यन्त्र सेवा सुरुवात, नगर प्रहरीको व्यवस्थापन, संघिय सरकारले सिलान्यास गरेको १५ बेडको अस्पताल निर्माणको चरणमा रहेको, सार्वजनिक भवन निर्माण तथा ५ नं. वडा कार्यालयको लागि जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा रहेको, सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिक वडापत्र, सुचना पाटी सबै वडाहरुमा व्यवस्थापन गरेको, शितलहरको समयमा ३३३ थान न्यानो कपडा वितरण गरिएको लगायतको उलब्धि हुँदै गएको विज्ञप्तीमा उल्लेख छ । सार्वजनिक महत्वका बिषय अन्तर्गत चिसाङ्ग खोला उत्खनन् र खोलाबाट सृजित समस्या कटान रोकथाम,बाढी नियन्त्रण, कानेपोखरीको शिक्षक दरबन्दी मिलान, सुकुम्बासी तथा अब्यस्थित बसोबासको समस्या समाधान लगायतका मुद्दाहरुमा कार्यपालिकाले आवश्यक कार्यविधि बनाएर नीति निर्माण गरेर कार्यान्वयन गर्न निर्देशन दिने जनाइएको छ । सभाले विभिन्न ६ वटा विधेयक तथा ऐन समेत पास गरेको छ । १. कानेपोखरी गाउँपालिकामा सुशासन (व्यवस्थापन तथा संचालन) गर्न बनेको विधेयक, २०७७ २. कानेपोखरी गाउँपालिकाको सार्वजनिक नीजि साझेदारी विधेयक, २०७७ ३. कानेपोखरी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७ ४. कानेपोखरी गाउँपालिका स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ ५. स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ ६. कानेपोखरी गाउँपालिकाको तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विधेयक, २०७७ पारित गरेको छ ।

सम्बन्धित शीर्षकहरु