#

पथरीशनिश्चरेका शिक्षक, विद्यालय कर्मचारीका साथै ज्येष्ठ नागरिकलाई कोरोना बिरुद्दको खोप लगाइने

  पथरी अनलाईन   १८ फाल्गुन २०७७, मंगलवार

पथरी शनिश्चरे, १८ फागुन
मोरङको पथरी शनिश्चरे नगरका २१ वटा खोपकेन्द्रबाट फागुन २३ देखि ५५ वर्ष माथिको उमेर समूहका नगरवासीलाई कोरोना भाइरस विरुद्ध निःशुल्क खोप लगाइने भएको छ ।                                                   
नगर खोप समन्वय समितिले नगर प्रमुख एवम् समिति संयोजक दिलीपकुमार राईको अध्यक्षतामा आज बैठक सम्पन्न गरी फागुन २३ देखि चैत ३ गतेसम्म खोपकेन्द्रहरु मार्फत खोप सञ्चालनको निर्णय भएको हो । नगर प्रमुख राईले कोरोनाबाट बच्नका लागि सरकारले खोप अभियान सञ्चालन गरेकाले ढुक्क भएर खोप लगाउन नगरवासीलाई आव्हान गर्नुभयो । उहाँले ५५ वर्षमाथिको उमेर समूह नै कोरोनाबाट बढी संक्रमित देखिएकाले उहाँहरुको सुरक्षाका लागि खोप अभियान अघि बढेको जनाउनु भयो ।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहालले ज्येष्ठहरुको सुरक्षाका लागि खोप लगाउन सवै जुट्नु पर्ने बताउनु भयो ।
शिक्षक, यातायात सञ्चालक, ज्येष्ठ नागरिक र पत्रकार महासंघका प्रतिनिधि सहभागि बैठकमा अव सञ्चालन हुने तेस्रो चरणको खोपमा ५५ वर्षमाथिका नागरिकका साथै शिक्षक, विद्यालय कर्मचारी, यातायात सञ्चालकहरुलाई सहभागि गराइने जानकारी गराइएको छ ।
गोष्ठीमा कोरोना भाइरस र यसको खोपका बारेमा सहजिकरण गर्दै स्वास्थ्य शाखाका जगत मगरले गर्भवती र स्तनपान गराइरहेका महिला, कोरोना संक्रमण भएको ८ हप्तासम्मका व्यक्ति तथा खोप वा सुई लगाउँदा एलर्जी हुने व्यक्तिहरु बाहेक दीर्घ रोगीले समेत खोप लगाउन हुने प्रष्ट्याउनु भयो । ५५ वर्षमाथिका नागरिक तथा १८ वर्षमाथिका शिक्षक, विद्यालय कर्मचारी, यातायात सञ्चालक गरी यो चरणमा नगरमा करीव ८ हजार ५ सय ८८ जनालाई खोप लगाउने लक्ष्य बनाइएको स्वास्थ्य शाखाका एकराज खत्रीले उल्लेख गर्नुभयो । साथै उहाँले खोप लगाउन आउँदा आफ्नो उमेर प्रष्टिने कागजात लिएर आउन आवश्यक रहेको समेत जानकारी गराउनु भयो ।
खोपलाई प्रभावकारी बनाउन प्रचार प्रसारका साथै यसको योजनामा जुट्न यसखाले बैठक वडा खोप समन्वय समिति र महिला स्वास्थ्य स्वयमसेविकाहरुसँग समेत तत्काल सञ्चालन हुनेछ ।
हसन्दह स्वास्थ्य चौकी अन्तर्गत वडा नम्बर ५ को जनता आधारभूत विद्यालय सुन्दरीचोकमा २३ गते, सहीद रामलक्ष्मण आधारभूतमा २४ गते, सुगाहाट माविमा २५ गते, अमरसिंह माविमा २६ गते र ६ नम्बरको शहरी स्वास्थ्य केन्द्रमा २७ गते खोप लगाउने कार्यक्रम छ । त्यसैगरी, ६ नम्बरकै रामजानकी आधारभूतमा २८ गते, दुर्गा आधारभूतमा २९ गते, शिक्षा सदनमा चैत १ गते र ५ को हसन्दह स्वास्थ्य चौकीमा २ र ३ गते खोप लगाउने तालिका बनेको छ ।
शनिश्चरे स्वास्थ्य चौकी अन्तर्गत ८ नम्बरको सोमबारे खोप केन्द्रमा फागुन २३ गते, ९ नम्बरको पुरानो स्वास्थ्य चौकी भवनमा २४ गते, १० को मंगलबारे डाँडामा २५ गते, ४ को बालकल्याण माविमा २६ गते, ८ को शुक्रबारे खोप केन्द्रमा २७ गते, ४ को सरस्वती आधारभूतमा २८ गते र शनिश्चरे स्वास्थ्य चौकी भवनमा २९ तथा चैत १ र २ गते खोप लगाइने छ ।
पथरी नगर अस्पताल अन्तर्गत ३ नम्बरको किरात चोकमा फागुन २३ गते, वीरेन्द्रनगरको ज्येष्ठ नागरिक भवनमा २४ गते, २ को बोक्रे चोकमा २५ गते, १ को शहरी स्वास्थ्य केन्द्रमा २६ गते र २ को नगर अस्पतालमा २७ देखि चैत ३ गतेसम्म खोप सञ्चालन हुने भएको छ । सोही समयमा मासिक नियमित खोप सेवा समेत सञ्चालन हुनेछ ।

सम्बन्धित शीर्षकहरु