#

उपसभामुख तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्न मोरङ्गका उपप्रमुखहरुको आग्रह

  पथरी अनलाईन   २९ पुष २०७६, मंगलवार

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई नेकपाले पदबाट राजीनामा दिन आग्रह गरेको र उपसभामुख तुम्बाहाम्फेले राजिनामा नदिने अडान लिइरहेको अवस्थामा मोरङका उपप्रमुखहरूले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्न आग्रह  गरेका छन् ।


मोरङ्ग जिल्लाका उपप्रमुखहरुले योग्यता–क्षमता र आवश्यकताको अन्तरसम्बन्धमा पार्टीले विश्वास गर्ने गरेकोले यहीँ मनोविज्ञानका साथ तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान हुने विषयमा विश्वास रहेको र जिम्मेवारी प्रदान गर्न आग्रह गरेका छन् । उनिहरुले आग्रह सहितको ध्यानाकर्षण पत्र नेकपा मोरङ्ग जिल्ला कमिटीलाई बुझाएका हुन।

नेकपा मोरङ जिल्ला कमिटीको कार्यालय, पाञ्चली, विराटनगर पुगेर मोरङ्गका ७ नगरपालिका र ३ गाउँपालिकाका उपप्रमुखहरूले सोमबार सो आग्रह पत्र बुझाएका हुन ।

यतिबेला प्रतिनिधी सभामा सभामुख पद रिक्त छ । यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली भएको हो । नयाँ सभामुख छान्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा लामो बहस भएपनि अहिलेसम्म टुंगो लाग्न नसक्दा प्रतिनिधी सभाको बैठक ३ पटक सम्म स्थगित भइसकेको छ । यता उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेलाई नेकपाले पदबाट राजीनामा दिन आग्रह गरेको छ । तर उनले सभामुखको उमेद्वार खडा नगरेसम्म राजीनामा नदिने अडान लिएकी छिन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गरिन भएको ढिलासुस्ती र सञ्चार माध्यममा आएको चर्चाले बढी गम्भीर बनाएको उल्लेख गरिएको छ । पत्रमार्फत नै उपप्रमुखहरूले तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्ने विषयमा किन निर्णय हुन नसकेको हो भन्ने प्रश्न पनि गरेका छन् ।
“श्रमजीवी महिलाहरूका मुर्छित सपनाहरूलाई ब्युँताउन सक्ने उहाँको नेतृत्व र रणनीतिक नेतृत्व क्षमता विकासले ठाउँ पाउँदा हामीले फड्को मार्न सक्ने कुरामा हामी मोरङ जिल्लाभरिका स्थानीय सरकारका उपप्रमुख÷उपाध्यक्षहरू विश्वस्त छौँ”, पत्रमा उल्लेख छ ।

पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोला, उर्लाबारीका लक्ष्मीदेवी भण्डारी, बेलबारीका ढाकाकुमारी पराजुली, लेटाङका कृष्णकुमारी पोखरेल निरौला, सुन्दरहरैचाका धनाकुमारी तामाङ, रतुवामाइका दमयन्ता चुडाल, केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बु भुजेल, ,मिक्लाजुङका सरला राई, कानेपोखरीका राजमती इङ्नाम र रंगेलीका केशव कुमारी खरेलको संयुक्त एक समुहले नेकपा मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेललाई पत्र बुझाएका हुन ।