#

टमाटर खेतीबाट मनग्ये आम्दानी

  विवेक न्यौपाने   २३ मंसिर २०७६, सोमबार

विवेक न्यौपाने, पथरी

गरे के हुन्न र? कुनै एक व्यक्ति वा कुनै एक संघसंस्थाले मात्र पहल गरेमा जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न सहजै सकिन्छ।
माथिका हरफलाई चरितार्थ गरिरहेको छ लेटाङ्ग ९ जाँतेमा स्थापित उत्तरी मोरङ्ग कृषि महिला सहकारी संस्थाले।

जो सुकै यति बेला लेटाङ्गको जाँते पुग्ने हो भने आश्चर्यमा पर्ने गर्दछन। कारण हो जाँतेको अधिकांश भुभागमा लगाइएको टमाटर खेती । जातेमा स्थापित उत्तरी मोरङ्ग कृषि महिला सहकारी संस्थाको सक्रियतामा लेटाङ्गको जातेका किसानले ३ सय २० विगाहा भन्दा बढी क्षेत्रमा लगाएको टमाटरमा यति बेला लटरम्म टमाटर फले पछि किसानहरु पनि मख्ख छन। सहकारीमा आवद्ध ३ सय बढी किसान धान लगाउदै आएको जमिनमा टमाटर लगाएर मनग्ये आम्दानी हुन थालेपछी हर्षित बनेका छन।


वैदेशिक रोजगारीको शिलशिलामा लामो समय विदेश बसेपनी खासै आर्थिक प्रगती नगरेका लेटाङ्गका घनश्याम खतिवडा यति वेला डेड बिगाहा क्षेत्रफलमा लगाएको टमाटरले राम्रो उत्पादन र बजारले राम्रो मूल्य दिन थालेपछी अब नेपाली युवाले रोजगारीका लागि वैदेशिक मुलुक जानुपर्ने बाध्यता हटेको बताउछन। जम्मा १ लाखको लगानीमा शुरु गरेको टमाटर खेतिले प्रती सिजन १० लाख रुपैयाँ सम्मको टमाटर उत्पादन भएको उनको अनुभव छ।

धान खेती छाडेर टमाटर खेतीमा रमाइरहेकी सीता लिम्बुको पनि यस्तै अनुभव छ। निरन्तर धान खेती गर्दै आएकोमा धान लाई विस्थापित गर्दै टमाटर रोपेर उनले एकै सिजनमा १ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिसकेकी छन।

यस्तै सोही स्थानकी इन्दिरा मगर, निर्मला बोहोरा लगायतले पनि टमाटर खेती बाट राम्रै आम्दानी गरिरहेका छन।
उत्तरी मोरङ्ग कृषि महिला सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई अनुदानमा टमाटरको बीउ प्रदान गर्नुका साथै मल प्रयोग र विरुवाको हेरचाह सम्बन्धि तालिम संचालन गर्दै आएकोले पनि किसानले राम्रो प्रतिफल पाइरहेको संस्थाकी अध्यक्ष मथुरा अधिकारीको बुझाई छ। उहाँले अन्य कृषकहरुलाई समेत सहकारी सँग सहकार्य गर्दै तरकारी खेती गर्न आग्रह समेत गर्नु भयो।

यस्तै संस्थाकी सचिव भुमिका बुर्जा मगरले सहकारीको यश अभियानले स्थानिय कृषकहरुलाई रोजगारीका साथै राम्रो आम्दानी रहेकाले सम्पुर्ण सदस्य कृषकहरु उत्साहित रहेको सुनाउनु भयो।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत
टमाटर पकेट क्षेत्र अन्तर्गत कृषि ज्ञान केन्द्र मार्फत अनुदान प्राप्त गरेको सहकारीले ब्लकमा रुपान्तरण गर्न कृषि ज्ञान केन्द्रलाई अनुरोध समेत गरेको छ।

सरकारले संचालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पाँच अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ। १० वर्षमा एक खर्ब ४४ अर्ब रुपैयाँ यो परियोजनाअन्तर्गत खर्च गर्ने लक्ष सरकारको रहेको छ।
आगामी १० वर्षका लागि सञ्चालनमा आउने यो कार्यक्रमलाई सरकारले महोत्वकांक्षी योजनाका रूपमा लिएको छ। यो कार्यक्रमका लागि सरकारले छुट्टै बजेट पनि विनियोजन गरेको छ।

यश कार्यक्रम अन्तर्गत कृषि विकास मन्त्रालयले साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र (सुपर जोन) का रूपमा जिल्लाहरूलाई वर्गीकरण गरी कृषिसम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएको हो। यसै कार्यक्रम अन्तर्गत लेटाङ्गको जातेलाई टमाटरको व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) घोषणा गर्न पहल थालिएको सचिव मगरको भनाई छ।

टमाटर खेती मार्फत राम्रै आम्दानि भैरहे पनि कृषकहरुले आधुनिक कृषि औँजार, उपकरण , पर्याप्त तालिम, उन्नत बीउ विजनको अभाव लगायतका समस्याका कारण सोचेअनुरुप उत्पादन गर्न भने नसकी रहेको गुनासो गरेका छन। स्थानिय युवा व्यवसायी घनश्याम खतिवडा भन्छन, ” सरकारले यी समस्याको उचित सम्बोधन गरे अझ आधुनिक तरिकाले टमाटर खेती गर्दै टमाटरमा मुकुकलाई नै आत्मनिर्भर बनाउन टेवा पुर्याउन सकिन्छ”।

यस्तै स्थानिय कृषकहरु उत्साहित भएर तरकारी खेती गरिरहेको अवस्थामा नगरले किसानका लागि कस्तो योजना बनाएको छ भन्ने प्रश्नमा नगरकी उपप्रमुख कृष्ण कुमारी निरौलाले कृषि क्रान्ति किसानबाट मात्र सम्भव भएकाले किसानलाई नगरले तरकारी खेती गर्न उत्प्रेरित गर्न विभिन्न कार्यक्रम गर्ने बताउनु भयो। लेटाङको जाते, टमाटर पकेट क्षेत्रको अवधी सकिन लागेकाले टमाटर ब्लक क्षेत्रमा जाने तयारीमा रहेको उहाँको भनाई छ। टमाटरको साथै घिउ सिमिको समेत ब्लक क्षेत्र बनाउने योजना रहेको उपप्रमुख निरौलाले सुनाउनु भयो।

यसका साथै लेटाङ्ग ९ का वडा अध्यक्ष कृष्ण लुइटेकले सहकारीले संकलन केन्द्र संचालन गर्दै आएकाले किसानले विचौलियाको जंजिरमा नपरी सदैव संकलन केन्द्र मार्फत आफ्ना फसल विक्री गर्न सुझाव दिनु भयो।

कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराव, लेटाङ्गको जाते स्थित जमिनमा हल्का किसिमको प्रशस्त प्राङ्गारिक मल भएकाले तरकारी खेतिका लागि उपयुक्त रहेको बताउनु हुन्छ। खेती गर्न आवश्यक आधुनिक कृषि उपकरण र तालिम अभावको कृषकको गुनासोका विषयमा उरावले ब्लक क्षेत्र घोषणा भए लगत्तै यी सम्पुर्ण विषयको व्यवस्था हुने बताउनु हुन्छ।

एउटा महिला कृषि सहकारी संस्था र त्यसका शेयर सदस्यहरुको मात्र सक्रियतामा मनग्ये आम्दानी सहित ठुलो क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिदो रहेछ भने पुरै राज्य संयन्त्रको सक्रियता रहेमा मुलुक तरकारीमा आत्मनिर्भर बन्ने थियो कि ? अधिकतम आयातका कारण बेला बेला आकाशिने तरकारीको बजार मूल्य नियन्त्रण गर्न सकिन्थ्यो कि ? संबंधित सवै पक्षले वेलैमा विचार गर्न जरुरि छ।

सम्बन्धित शीर्षकहरु