#

एचआइभी संक्रमितलाई बाँच्न सक्ने अवस्था सृजना गर्नु सबैको दायित्व ः मन्त्री घिमिरे

  पथरी अनलाईन   १५ मंसिर २०७६, आईतवार

विराटनगर, १५ मंसिर ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले एचआइभी संक्रमितलाई समाजमा बाँच्न सक्ने अवस्था सृजना गर्नु सबैको दायित्व भएको बताउनु भएको छ ।

३१ औं एचआइभी संक्रमित दिवसका अवसरमा विराटनगरमा आज आयोजित कार्यक्रममा मन्त्री घिमिरेले एचआइभी संक्रमितहरु खुलेर समाजमा नआउँदा समस्या भएको बताउनु भयो । उहाँकाअनुसार प्रदेशमा एचआइभी संक्रमितहरु खुलेर नआउदाँ उपचारमा समस्या रहेको छ ।

संक्रमितको तथ्य संकलन गर्दै समाजमा स्थापित हुन सक्ने वातावरण बनाउन सरकार तयार रहेको उहाँको भनाइ छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एचआइभी संक्रमित बालबालिका लागि महानगरले प्रति व्यक्ति २ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको बताउनु भयो ।

उनले समाजमा एचआइभी संक्रमितहरुलाई फरक दृष्टिकोण, होच्याउने हिसाबले हेर्ने गरिएको र त्यसबाट माथि उठेर समाजमा सबैले संक्रमितहरुलाई सहज हुने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

यसअघि, एचआईभी नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका नाराका साथ प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रम सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय मोरङको आयोजना र एचआईभीका क्षेत्रमा कार्यरत संघसंस्थाहरुको कार्यालय मोरङको सहयोगमा भएको हो ।

मोरङमा १ हजार ६ सय संख्यामा एचआइभी संक्रमित रहेकाछन् । जसमा करिब १ सय ३ जना बालबालिका छन् ।

सम्बन्धित शीर्षकहरु