#

मोरङमा पनि फौजी किराको आतंक

  पथरी अनलाईन   १९ कार्तिक २०७६, मंगलवार

पथरी

अन्य जिल्लाहरुमा देखिदै आएको फौजी किराको आतंक मोरङमा पनि देखिएको छ । धान भित्राउने समयमा फौजी किराको संक्रमण बढेपछि मोरङ्ग पथरी शनिश्चरे ५ कोठेवारी, मैनखाडीका किसान चिन्तित बनेका छन् । फलेको धानमा फौजी किराको प्रकोप बढेसंगै यहाँका किसानले पाक्न केही समय लाग्ने धानपनि काट्न थालेका छन् ।

काटेर खेतमा सुकाएको धान समेत किराको प्रकोपले नष्ट हुन थालेपछि किसानमा थप चिन्ता थपिएको हो । केही समय अघि झापा र सुनसरीमा देखिएको फौजी किराको प्रकोप पथरी शनिश्चरेका धानवालीमा समेत आइपुगेको हो । पाक्ने तयारीमा रहेको धान नोक्सान गरेपछि यतीबेला यहाँका किसानहरु भने चिन्तित बनेका छन् ।

नगरकै बढी धान उत्पादन हुने कोठेवारी,मैनखाडी क्षेत्रमा फौजी किराको प्रकोप बढ्दै गएपछि यसको नियन्त्रणका लागि किसानले संम्वधित पक्षसंग आग्रह गरेका हुन् । फौजी किराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि धान उत्पादन घट्ने यहाँका किसानहरु वताउछन् । यहाको करिव १० विगाह जग्गामा लगाइएको धानमा फौजीको प्रत्यक्ष असर देखिएको छ । अझै धेरै धानमा यसको संक्रमण भएको हुनसक्ने त्यँहाका किसानले बताएका छन् ।


पथरीशनिश्चरे ५ कोठेबारीका कृषक प्रेम प्रसाद ज्ञवालीको ६ कठ्ठा जग्गामा लगाइएको धान फौजीको प्रकोपले नष्ट भएको छ । उनले भने ‘गत वर्ष ३० मन धान फलेको खेतमा यस वर्ष फौजीको प्रकोपले ७ मन धान भित्राउन नसकिएला जस्तो भएको छ ।’उनले भने ‘फौजीको नियन्त्रण नभए यस वर्ष किसानलाई समस्या हुन्छ’।

कृषक डम्वर कुमार अधिकारीका अनुसार फौजीको प्रकोपले पुरै धानको बाला काटेको छ । ठाडै रहेका धानमा मात्र नभएर काटेर सुकाएका धान पनि पाँजामै नष्ट भएको छ । उनले भने ‘फौजी किराले यस वडाका मात्र १० बिघामा भन्दा वढिमा लगाइएको धानबाली नष्ट गरिरहेको छ, कुन विषादीले यो किरा मार्न सकिन्छ थाहा छैन । यो वर्ष धान नफल्ने हो कि भन्ने चिन्ता छ ।’

प्रति बिघा ७०, ८० मनसम्म उत्पादन हुने धानबालीमा फौजी किराको प्रकोप देखिएपछि यहाका किसानलाई समस्या भएको वडा सदस्य चेतेन्द्र खड्काले बताए । उनले भने ‘फौजीको प्रकोप वारे नगरपालिकाको कृषी शाखामा जानकारी गराएको र समाधानको बाटो खोज्न सुरु गरेका छौँ ’। ‘यो ठूलो समस्याका रुपमा देखापरेको छ । यसको समाधानका लागि हामी छलफलमा छौँ । चाँडै समाधान निकाल्ने प्रयासमा छौँ ।’ अरुको अधिया खेती गर्दै आएका सोहि ठाउँका कृषक चिरन्जीवी वन्जराका अनुसार धान थन्काउन नपाइ किराले खाएपछि अनिकाल आउने त्रास यँहाका किसानमा रहेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको कृषि शाखा प्रमुख सावित्रा कार्कीका अनुसार फौजी किराको प्रकोप नगरमा पहिलो पटक देखिएको छ । धानको फुल खेल्ने समयमै प्रकोप फैलिएको थाह भएको भए नियन्त्रण गर्न सकिने थियो तर फसल उत्पादन भएपछि देखिएको प्रकोप नियन्त्रण गर्न नसकिने कार्र्कीले बताइन् । अव लगाइने वालीमा भने फौजीको प्रकोप नफैलियोस भनि किसानलाई नगरपालिकाले प्रविधिक सहयोग गर्ने उनी बताउछिन् । मकैमा समेत फौजीको प्रकोप रहने हुदा किसान सचेत हुनु पर्ने काकीको भनाइ छ ।

(प्रदेश दैनिक बाट)

सम्बन्धित शीर्षकहरु