#

चीनका राष्ट्रपति भोलि नेपाल आउदै

  पथरी अनलाईन   २४ आश्विन २०७६, शुक्रबार

काठमाडौ

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउँदैहुनुहुन्छ ।

उहाँ भोली अपराह्न साढे ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने स्रोतले दावी गरेको छ । यसका निम्ति विमानस्थल साढे २ घण्टा बन्द गरिने विमानस्थल कार्यालयले जनाइसकेको छ । भोली दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यावसायिक उडान स्थगन गर्न आदेश दिइसकिएको छ । २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको यस भ्रमणलाई नेपालले निकै महत्व दिएको छ ।

यसअघि, सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गर्नु भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगत्तै राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलनिवासमा साँझ साढे ६ बजे भेटवार्ता गर्ने तय गरिएको छ ।

यसपछि साँझ सवा ७ वजे सीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको देउवानिकट कांग्रेस नेताले जानकारी दिएका छन् । साँझ साढे ७ बजे राष्ट्रपति सी उनको सम्मानमा राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम रहेको छ । योसँगै भोलीको कार्यक्रम सकिनेछ ।

आइतबार बिहान साढे १० बजे सीले सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नेछन् । बिहान साढे ११ मा भने प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता र द्विपक्षीय सम्झौता हुनेछ ।

दुई देशबीच हुने औपचारिक वार्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईलगायत विषय समेटिनेछन् । औपचारिक वार्तालगत्तै द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । आइतबारै दिउँसो १ बजे सीको चीन फर्किन उडान छ ।

आइतबार पनि बिहान ११ ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । सो अवधिमा काठमाडौं विमानस्थलमा कुनैपनि उडान हुने छैनन् ।

सम्बन्धित शीर्षकहरु