#

नेपाल र भारतका प्रधानमन्त्रीद्धारा स्विच थिचेर गरे नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन, पाइपलाइनको उद्घाटन

  पथरी अनलाइन   २४ भाद्र २०७६, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको उदघाटन गर्नुभएको हो । पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले पाइपलाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताउनुभयो । अमलेखगन्जमा इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए । सो तेल भण्डारण गृहमा खन्याइएको थियो । यससँगै पाइपलाइनको माध्यमबाट भारतबाट आएको पेट्रोलियम पदार्थ अमलेखगञ्जस्थित डिपोमा भण्डारण हुन थालेको छ । प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफू भारतीय समकक्षी नरेन्द्र मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार रहेको पनि बताउनुभयो । केही वर्षयता भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति राम्रो रहेको भन्दै उहाँले भूकम्पपछिको पुनर्निर्माणमा गोरखा र नुवाकोटमा गरी भारतीय सहयोगमा ५० हजार घर बनेको जानकारी गराउनुभयो । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता दोर्होयाउनुभयो । प्रधानमन्त्री मोदीले यो आयोजनामा अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल भारत सहयोगका परियोजनाहरुको काम पनि सन्तोषजनक रहेको बताउनुभयो । दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्री ओलीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै मोदीले छिट्टै आउने बचन दिदै छिट्टै नेपाल आउने प्रयास गर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको स्वास्थलाभको कामना गर्दै अभुतपूर्व सक्रियताको प्रशंसा पनि गर्नुभयो ।

पेट्रोलियम पदार्थको मूल्य समेत घट्यो

यता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोलियम पाइपलाइन उदघाटनको दिनदेखी पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।
समायोजन भएको नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।