#

विश्वको सर्वोच्च शिखर( नेपाल ) के गर्दै छ ? : सुमन न्यौपाने

    २५ पुष २०७५, बुधबार

हामी २१ अौं शताब्दीको प्रविधि युक्त युगमा छौं । यस्तो युग जहाँ विज्ञान र प्रविधिको प्रयोगले ठुलो फड्को मारेको छ। दिनैपिछे भनौं या हरेक मिनेट हरेक सेकेन्डमा वैज्ञानिक आविष्कारहरु र संसारलाई नै आश्चर्यचकित तुल्याउने समाचार आइरहेको छ ।

यो विज्ञान र प्रविधिको विकासको परिणाम हो । गत साता चीनको चाङ ई -४ नामको यानले चन्द्रमाको रहस्यमय खाडलको सतहमा अवतरण गर्यो । यसअघि पुगेका यानले त्यस क्षेत्रको अवलोकन मात्र गरेका थिए तर अवतरण गरेका थिएनन् ।

त्यसतै भारतले सन् २०२२ सम्ममा ३ जना यात्री सहितको ” गगनयान” नामक अन्तरिक्ष यान अन्तरिक्षमा पठाउने भएको छ। यसअघि रुस , अमेरिका र चीनले मानवसहितको मिसन अन्तरिक्षमा पठाइसकेका छन् ।

छेउमै रहेका दुई ठुला छिमेकी देशहरूले विज्ञान र प्रविधिमा ठुलो फड्को मारिरहदा , विश्वको सर्वोच्च शिखर( नेपाल ) के गर्दै छ ? विश्वविद्यालयहरु के गर्दै छन् ? विद्यार्थीहरु के गर्दैछन् ? के विज्ञान र प्रविधिको विकास बिना हामीले लिएको समृद्धको लक्ष्य सम्भव छ ? हाम्रा विद्यार्थीहरु अहिलेको शैक्षिक वातावरणमा टेकेर वर्तमान विश्वसगँ प्रतिस्पर्धा गर्न हैसियत राख्छन् ?

यी प्रश्नहरूलाई गम्भीरतापूर्वक लिन जरुरी छ। यी प्रश्नहरुलाई गम्भीरतापूर्वक लिएनौ भने भोलिको भावी पुस्तालाई ” हामीले केही गरेनौं , छिमेकीहरुको अन्तरिक्ष यानको इतिहास पढ् … हामीले नि त्यही पढेका हौं ” भन्ने अवस्था आउदैन भन्न सकिन्न । हाम्रा विश्वविद्यालय र विश्वविद्यालयका सरकारी आङ्गिक क्याम्पसहरु आफै बिग्रेका , लथालिङ्ग र शैक्षिक माफियाहरुको मनपरि तन्त्र चलेको छ ।

विद्यार्थी संगठनहरु शैक्षिक मुद्दा , क्याम्पसको सुधार र शैक्षिक बेरोजगार मुद्दा भन्दा पनि राजनीतिक मुद्दा र नेता बन्ने होडबाजीले गर्दा , क्याम्पस र शैक्षिक गुणस्तरले track छोडेको अवस्था छ। के यस्तो क्याम्पसको वातावरण र शैक्षिक गुणस्तरले , हामी विश्वसगँ प्रतिस्पर्धा गर्ने हैसियत राख्छौं ? देशले लामो समयको अन्तराल पछि स्थायी सरकार पाएको अवस्थामा विद्यार्थी संगठनहरु र विद्यार्थीहरुले शैक्षिक गुणस्तर , क्याम्पस को सुधार सगै विज्ञान र प्रविधिको विकासमा जोडदिन आवश्यक छ।
Suman.neupane234@gmail.com

उनी अमृत क्याम्पस काठमाडौंका विद्यार्थी हुन्।