#

उर्लाबारी नगरपालिकाद्वारा करको दर संशोधन

  पथरी अनलाइन   ७ भाद्र २०७५, बिहीबार

भाद्र ७, उर्लाबारी

उर्लाबारी नगरपालिकाले करको दरमा संशोधन गरेको छ । मंगलबार विहान बसेको विशेष नगर सभाले करको दररेटलाई संशोधन गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको निर्णय अनुसार नगर सभाले दररेट संशोधन गरेको हो । विशेष नगर सभाबाट दररेट संशोधन गर्ने उर्लाबारी पहिलो नगरपालिका भएको दावी गरिएको छ ।
विशेष नगर सभामा नगर प्रमुख खड्ग फागोले दररेट संशोधनको प्रश्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव सर्वसम्मतले पारित भएको हो । संशोधित करको दररेट अनुसार विभिन्न शीर्षकमा लिइने करमा १२ प्रतिशतदेखि ७५ प्रतिशतसम्म घटाइएको छ । नगरपालिकाले अंग्रेजी भाषामा सिफारिस गराउँदा दस्तुर वापत लिँदै आएको ८ सय रुपैंयालाई घटाएर ७ सय कायम गरेको छ । जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना ३५ दिनभित्र दर्ता गराए निःशुल्क तथा ३५ दिन पछि दर्ता गराए ५० रुपैंया शुल्क लाग्ने भएको छ ।
यसैगरी, सम्पति करतर्फ २५ लाखदेखि ५० लाखसम्म प्रतिलाख ५, ५० लाख १ देखि ७५ लाखसम्म प्रतिलाख १०, ७५ लाख १ देखि १ करोडसम्म प्रतिलाख १५ रुपैंया, १ करोड १ देखि २ करोडसम्म प्रतिलाख १३ रुपैंया, २ करोड १ देखि ३ करोडसम्म प्रतिलाख ७ रुपैंया र ३ करोड १ देखि ५ करोडसम्म प्रतिलाख ५ रुपैंया कर घटाएको नगर प्रमुख फागोले जानकारी दिनुभयो ।
यस्तै, व्यवसाय करतर्फ विभिन्न शीर्षकमा कर घटाइएको छ । रिक्सा, साइकल, मर्मत पसल, व्याट्री चार्जर पसल, कलर ल्याव, फलफूल, सागसब्जी, मौरी पालन उद्योग, मैन बत्ती उद्योग, दालमोठ उद्योग, कृषि फर्म, फोटोकपि, पिसिओ, व्युटि पार्लर, पान पसललगायत शीर्षकमा पनि कर घटाइएको छ ।
नगरपालिकाले कामदारको ज्याला, मेसिनको भाडा तथा ढुवानी दर बढाएको छ भने स्थानीय तथा विविध निर्माण सामग्रीको दररेट भने घटाएको छ । यसबाट अब योजना सम्पन्न गर्न कम लागत लाग्ने जनाइएको छ । नगर प्रमुख फागोले भन्नुभयो, ‘नयाँ समायोजन अनुसार १ लाखमा सम्पन्न हुने काम ७० हजारमै हुन्छ ।’ ‘मजदुरको ज्याला दररेट बढाइएको र ढुंगा, गिटी, बालुवाको दररेट घटाई लागत मैत्री बनाइएको छ’ नगर प्रमुख फागोले भन्नुभयो, ‘जसले गर्दा योजनाहरुको लागतमा कमी भई नगरपालिका योजनामा खर्च हुने रकम बचत हुन्छ ।’
मंगलबार नगरपालिका परिसरमा पत्रकार सम्मेलन गरी नगर प्रमुख खड्ग फागोले यस आर्थिक वर्षको एक महिनामा विभिन्न कार्य गरिएको बताउनुभयो । सबै वडाहरु, विषयगत शाखाहरु तथा नगरपालिकाका सम्पूर्ण शाखाहरुलाई अख्तियारी दिई काममा तीब्रता दिएको, नगर कार्यपालिकाको कार्यालय भवनको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको, ढुङ्गा, गिटी, बालुवा उत्खनन् तथा संकलन गर्ने दहत्तर तथा बृहत्तर शुल्क संकलन ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशन गरिएको उहाँले बताउनुभयो ।
यस्तै, नगरपालिकाबाट स्वीकृत कार्यविधि, ऐन, नियम बमोजिमका सम्पूर्ण समितिहरु गठन गरिएको, जनमुखी दररेट स्वीकृत गरी आर्थिक वर्ष २०७५÷०७६ का लागि लागू गरिएको, नगरपालिकाको कार्यालयमा एक्टेन्सन सहितको टोल फ्रि नम्बर सेवा सुरु गरिएको छ । अब नगरवासीले आफ्ना जिज्ञासा तथा गुनासा टोल फ्रि नम्बर १६६०२१४२००० मा फोन गरी निःशुल्क राख्न सक्ने व्यवस्था मिलाइएको छ ।
नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई औषधि वापतको रकम विनियोजन गरेको, सरकारले तोकेको ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न सबै स्वास्थ्य संस्थामा व्यवस्था मिलाइएको, विपदका बेला आइपर्ने समस्यालाई मध्यनजर गर्दै औषधि खरिद गरेर स्टक राखिएको प्रमुख फागोले बताउनुभयो ।
यस्तै, कृषि विकासतर्फ धान रोप्ने मेसिनको व्यवस्थापन गर्ने योजना रहेको, पारदर्शी तरिकाले कृषि अनुदान वितरण गरिएको छ । नगरपालिकाले उर्लाबारीका विभिन्न स्थानमा फ्रि वाइफाइको व्यवस्था गर्ने जनाएको छ । यस्तै, उर्लाबारीका सीमसार, मदन भण्डारी स्मृति प्रतिष्ठानलाई पर्यटकीय स्थलका रुपमा विकास गरी पर्यटक भित्राउने योजना मेयर फागोले सुनाउनुभयो । नगरको विकासका लागि नगर कार्यपालिकाले गुरु योजना तयार पारेर अघि बढ्ने उहाँको भनाई छ ।

सम्बन्धित शीर्षकहरु